आगम, यामल र निगम (शिव, भैरव र तन्त्र शास्त्र)


शिव ,भैरव र तन्त्र शास्त्र       
---------------------------
तंत्र शास्त्र भगवान आशुतोष शिवजीद्वारा  निःसृत भएको मान्ने गरिन्छ   |  यसका तीन हाँगा रहेका छन , जसलाई  आगम, यामल र निगम  भनेर चिन्ने गरिएको छ  |  यामल तंत्र शिव र  शक्तिको   एकताको प्रतीक हो | शिवको अर्द्धनारीश्वर  स्वरुप तन्त्रस्वरूप मानिएको छ   |  यहाँ  शिव विशुद्ध चैतन्यको प्रतिक हो भने  शक्ति विशुद्ध गुणात्मक ऊर्जा हो | प्रत्येक व्यक्तिको  शक्ति , कुंडलिनी शक्तिको रूपमा विराजमान भएको हुन्छ  |  तंत्र शास्त्रले  जे कुरा यो ब्रह्मांडमा छ  त्यहीकुरा हाम्रो शरीर भित्र पनि रहेको हुन्छ भन्ने गर्दछ  | यसैका कारण मान्छेले आफ्नो चेतना शक्तिद्वारा ब्रह्मांड संग संपर्क स्थापित गर्न सकेको हुन्छ  | मानवीय चेतना असीमित रहेका हुन्छन  |  शिव संहितामा कुंडलिनी शक्तिलाई  सुप्तसर्पिणी  जस्तो भनिएको हुँदा ,  धेरै प्राचिन विद्वानहरुले  यसलाई  ‘जीवन अग्नि’ भनेर चिह्नाएका छन | शास्त्रले हाम्रो मूलाधार चक्रमा  कुंडलिनी शक्ति रहेको हुन्छ भनेर बताएको छ |  तंत्र शास्त्र त्यै कुरालाई इंगित गर्दै जुनसुकै  मान्छेले चक्र र कुंडलिनीमा ध्यान दिन सकेको  खण्डमा  त्यो  मान्छे सवै विद्यामा  निपूण हुन सक्दछ  भन्ने कुरा बताएको देखिन्छ   |

भैरवको परिचय
------------------
भयानक अर्थ लाग्ने देउता भैरव शिव स्वरूप मानिएका छन | यहाँ भैरवको अर्थ हो भयको हरण गरी जगतको भरण गर्ने | भैरवका उपाशकहरु , भैरव शब्द संगठनको तीन अक्षरभित्र ब्रह्मा, विष्णु र महेशको शक्ति समाहित हुन पुगेको छ भन्ने गर्दछन  | तर , त्यो सही हो या गलत भन्न सक्ने अवस्थामा आफु नभएपनि , मेरो  साधारण बुझाईमा, भैरव शिवका गण हुन , पार्वतीका अनुचर हुन | ‘शिवपुराण’ अनुसार मंशीर महिनाको कृष्णपक्षको अष्टमी तिथिको प्रदोषकालमा इनको उत्पत्ति भएको थियो | तसर्थ , यो तिथिलाई भैरवाष्टमी भन्ने गरेको कुरो नेपाली पात्रोले बताउंदै छ | पुराण ग्रन्थहरु  पल्टाउँदा  शिवजीको रगतबाट भैरव उत्पत्ति भएका थिए  , तिनै बटुक भैरव र काल भैरव भनेर चिह्निए | एउटै भैरवको रुप ८ ओटा छ - असिताङ्ग , रुद्र, चंड, क्रोध, उन्मत्त, कपाली, भीषण र संहार | यिनी शिवजीका पाचौं अवतार मानिएका छन् | हिन्दू , बुद्ध र जैन सबैले भैरवको पूजा गर्दछन | भैरवहरुको संख्या ६४ मानिएपनि तिनलाई आठ भाग लाउँदा  कालो , विशाल आभूषण , स्थूल शरीर, अंगारकाय(क्रुद्ध ) त्रिनेत्र, कालो डरलाग्दो वस्त्र , रूद्राक्षको कण्ठमाला, हातामा फलामको भयानक दण्ड र कालो कुकुरको सवारी गर्ने आवरण स्वरुपका सबै  भैरव जनिन पुगेको देखिन्छ  | उपासनाको दृष्टिले भैरव तामसी देउता हुन  | उनलाई बलि दिईएको हुन्छ ,कारण भैरव उग्र कापालिक सम्प्रदायका देउता मानिएका छन् र तंत्रशास्त्रमा उनको आराधना मुख्य मानिएको हुन्छ | तंत्र साधकहरुले  भैरव भाव भित्र आफुलाई आत्मसात गराउन चाहेका हुन्छन | शास्त्रीय संगीतमा एउटा रागको नाउँ भैरव नै राखिएको छ | भयदायी उग्र देउता भैरव , भूत, प्रेत, पिशाच, पूतना, आदि भगवान शिवका गणहरु हुन भनिएको छ र यिनलाई विभिन्न रोग ,आपत्ति ,विपत्तिका अधिदेवता मानिएको छ | शिव प्रलयको देउता हुन भने भैरव विपत्ति, रोग एवं मृत्युका देउता र शिवका सैनिक मानिएका छन | हामी मानव जातिको बीमारी, विपत्ति र विनाशको पार्श्वमा भैरव रहेका मानिएका र यिनले शिवदूतहरुलाई संचालन गर्ने काम गर्ने पौराणिक परिचय रहेको हुँदा , हाम्रो समाजमा इनको महत्व चूलिन पुगेको हो | हाम्रो पूर्वीय समाजको  दैनिक  कृत्यमा , पूजा कोठामा बसेर  ध्यान गर्ने परम्परा रहेको छ | यहाँ ध्यानको अर्थ कुनै देउताको संपूर्ण आकार आफ्नो मानस पटलमा केन्द्रित गर्नु हो | सनातन हिन्दू संस्कृति प्रतीकवादी संस्कृति भएको कारणले गर्दा यसको परम्परामा प्रत्येक पदार्थ तथा भावको प्रतीक उपलब्ध हुने हुँदा देविदेउताको प्रतीक उभयात्मक अर्थात स्थूल र सूक्ष्म दुवै मान्ने गरिएको हो | सूक्ष्म भावनात्मक प्रतीकलाई देउता भन्ने गरिएको हुन्छ भने ,मान्छेमा रहेको  भयपनि भाव नै मानिएको हुँदा त्यो मानव जातिको भयको प्रतीकलाई भैरव भन्ने गरिएको हो |

तंत्रशास्त्रले भैरवको ८ ओटा नाउँ उल्लेख गरेको छ  – असितांग-भैरव, रुद्र-भैरव, चंद्र-भैरव, क्रोध-भैरव, उन्मत्त-भैरव, कपाली-भैरव, भीषण-भैरव तथा संहार-भैरव   | कालिका पुराणले  भैरवलाई  नंदी, भृंगी, महाकाल, वेताल जस्तै  शिवजीको  एक गण भनेर चिह्नाएको छ  जसको वाहन कुकुर हो | ब्रह्मवैवर्तपुराणलेपनि निम्नानुसार  १ . महाभैरव, २ . संहार भैरव, ३ . असितांग भैरव, ४ . रुद्र भैरव, ५ . कालभैरव, ६ . क्रोध भैरव, ७ . ताम्रचूड़ भैरव तथा ८ . चंद्रचूड़ भैरव भनेर आठोटा भैरवहरुको नाउँ उल्लेख गरिदिएको छ | शिव पुराणमा  भैरव परमात्मा शंकरको  पूर्णरूप भनेर वर्णन गरिएको छ   |

भैरव: पूर्णरूपोहि शंकरस्य परात्मन:।
मूढास्तेवै न जानन्ति मोहिता:शिवमायया॥

तन्त्रका आगम , यामल , डामर र तन्त्रको चिह्नारी  
------------------------------------------------------

वैचारिक हिसावमा  तंत्र शास्त्र चार किसिमका हुन्छन  | १. आगम २. यामल ३. डामर ४. तंत्र |

(१.) आगम
------------
वाचस्पति मिश्रले  योग भाष्यको  तत्व वैशारदी व्याख्यामा  ‘आगम’ शब्दको अर्थ बताउंदै भनेका छन जे बाट  अभ्युदय (लौकिक कल्याण) औ निःश्रेयस (मोक्ष) प्राप्त गर्ने उपाय पाइन्छ त्यो  ‘आगम’ हो |  वेद, पुराण, उपनिषद आदि ग्रन्थले  ज्ञान, कर्म औ उपासना पद्धतिको  विषयमा  बताएको छ , त्यसैले तिनलाई निगम भन्ने गरिएको छ |त्यसको स्वरूपलाई आचरण औ व्यवहारमा उतार्ने प्रक्रिया र  उपायको स्वरूप जो शास्त्रले  बताएको छ त्यसलाई ‘आगम’ भनिन्छ |   तन्त्र अथवा आगममा त्यसको प्रयोग मुख्य मानिन्छ | तन्त्रले  प्रक्रिया र अनुष्ठानमा  बल दिएको हुन्छ |  ‘वाराही तन्त्र’ले तन्त्र  शास्त्रको सातोटा  लक्षण बताएको छ त्यसमा व्यवहार  नै  मुख्य मानिएको छ - सृष्टि, प्रत्यय, देवार्चन, सर्वसाधन (सिद्धि  प्राप्त गर्ने  उपाय),पुरश्चरण (मारण, मोहन, उच्चाटन आदि क्रिया ),षट्कर्म (शान्ति, वशीकरण स्तम्भन, विद्वेषण, उच्चाटन र मारण  ), तथा  ध्यान (ईष्ट स्वरूपको  एकाग्रता औ  चिन्तन) |तन्त्र-शास्त्रको नाउँ  'आगम शास्त्र' पनि हो | -

आगमात् शिववक्त्रात् गतं च गिरिजा मुखम्।
सम्मतं वासुदेवेन आगमः इति कथ्यते ॥

आगम ग्रन्थ भनेको  शिव र पार्वतीको परस्पर वार्तालापको  कारण अस्तित्वमा आएको हो ,र यसलाई  भगवान  विष्णुले मान्यता दिएका थिए | भगवान शिवले बोलेको र पार्वतीले सुनेको ग्रन्थ आगम भनेर चिह्निएको हो भने पार्वतीले बोलेको तथा शिवजीले सुनेको निगम ग्रन्थ भनेर चिह्निएको छ |  निगम सर्वप्रथम भगवान विष्णुले सुनेका थिए |  विष्णुले नै यो ग्रन्थलाई मान्यता दिएपछि उनले  गणेशलाई , गणेशले नन्दीलाई र  नंदीले अन्य सदश्य  गणलाई यी  ग्रंथहरुको उपदेश दिएका थिए रे | आगम ग्रंथ अनुसार शिव जी पंचवक्त्र  मानिएका छन ,यहाँ वक्त्र मुखको द्दोतक हो |  शिवका ५ मुख रहेका छन , १. ईशान २. तत्पुरुष ३. सद्योजात ४. वामदेव (अर्द्धनारीश्वर )५. अघोर | तन्त्र शास्त्र अनुसार शिवजीको ५ ओटा टाउको  क्रमशः सिद्धि, आनंद, इच्छा, ज्ञान तथा क्रियाहरुको प्रतीक हो | यस वाहेक तन्त्र ग्रन्थ अनुसार  भगवान शिवले आफुलाई  मुख्य तीन अवतारहरुमा  प्रकट गरेको मानिएको छ १. शिव २. रुद्र तथा ३. भैरव,  | यसै अनुसार   आगम ग्रन्थहरुलाई ३ श्रेणिमा  लेखिएको पाइन्छ  क . शैवागम ख . रुद्रागम ग . भैरवागम  | प्रत्येक आगमको  श्रेणी स्वरूप तेस्को गुण अनुसार विभाजन  गरिएको छ  |

(क ) शिवागम  वा शैवागम
-----------------------------
भगवान शिवले आफुलाई  १० भागमा बाँडेका छन | त्यसै संग सम्बन्धित १० आगम शिवागम भनेर चिह्निएको छ |

१. प्रणव शिव संग सम्बंधित ज्ञान, कमिकागम ,२. सुधा शिव संग सम्बंधित ज्ञान, योगजागम ३. दीप्त शिव संग सम्बंधित ज्ञान, छन्त्यागम ४. कारण शिव संग से सम्बंधित ज्ञान, करनागम ५. सुशिव शिव संग  सम्बंधित ज्ञान, अजितागम ६. ईश शिव संग सम्बंधित ज्ञान, सुदीप्तकागम ७. सूक्ष्म शिव संग  सम्बंधित ज्ञान, सूक्ष्मागम ८. काल शिव संग  सम्बंधित ज्ञान, सहस्त्रागम ९. धनेश शिव संग  सम्बंधित ज्ञान, सुप्रभेदागम १०. अंशु शिव संग सम्बंधित ज्ञान, अंशुमानागम नामले चिह्निएको छ |

(ख ) रुद्रागम
--------------
रुद्रागम १८ भागमा बाँडिएको छ - १. विजय रुद्रागम २. निश्वाश रुद्रागम ३. परमेश्वर रुद्रागम ४. प्रोद्गीत रुद्रागम ५. मुखबिम्ब रुद्रागम ६. सिद्ध रुद्रागम ७. संतान रुद्रागम ८. नरसिंह रुद्रागम ९. चंद्रान्शु रुद्रागम १०. वीरभद्र रुद्रागम ११. स्वयंभू रुद्रागम १२. विरक्त रुद्रागम १३. कौरव्य रुद्रागम १४. मुकुट औ मकुट रुद्रागम १५. किरण रुद्रागम १६. गणित रुद्रागम १७. आग्नेय रुद्रागम १८. वतुल रुद्रागम  |

(ग )भैरवागम
--------------

भैरवागमको रुपमा  ६४ भागमा बाँडिएको छ -१. स्वच्छ २. चंद ३. कोर्च ४. उन्मत्त ५. असितांग ६. महोच्छुष्मा ७. कंकलिश ८. ............ ९. ब्रह्मा १०. विष्णु ११. शक्ति १२. रुद्र १३. आथवर्ण १४. रुरु १५. बेताल १६. स्वछंद १७. रक्ताख्या १८. लम्पटाख्या १९. लक्ष्मी २०. मत २१. छलिका २२. पिंगल २३. उत्फुलक २४. विश्वधा २५. भैरवी २६. पिचू तंत्र २७. समुद्भव २८. ब्राह्मी कला २९. विजया ३०. चन्द्रख्या ३१. मंगला ३२. सर्व मंगला ३३. मंत्र ३४. वर्न ३५. शक्ति ३६. कला ३७. बिन्दू ३८. नाता ३९. शक्ति ४०. चक्र ४१. भैरवी ४२. बीन ४३. बीन मणि ४४. सम्मोह ४५. डामर ४६. अर्थवक्रा ४७. कबंध ४८. शिरच्छेद ४९. अंधक ५०. रुरुभेद ५१. आज ५२. मल ५३. वर्न कंठ ५४. त्रिदंग ५५. ज्वालालिन ५६. मातृरोदन ५७. भैरवी ५८. चित्रिका ५९. हंसा ६०. कदम्बिका ६१. हरिलेखा ६२. चंद्रलेखा ६३. विद्युलेखा ६४. विधुन्मन |  यही तन्त्र शास्त्रको शाक्त शाखा अनुसार; यसका ६४ तंत्र र ३२७ उप तंत्र, यमल, डामर र संहिताहरु रहेका छन |

(२) यामल
------------
साधारणतः यमल भनेको  संधि हो र यो हाम्रो  शास्त्रानुसार दुई  देउताहरुको  वार्तालापमा आधारित रहेको छ | जस्तो - भैरव संग भैरवी, शिव संग ब्रह्मा, नारद संग महादेव आदिको प्रश्न तथा उत्तर  संवादनै  यामल कहलाईएको हो | हिन्दू शास्त्रानुसार शिव तथा शक्ति एउटै हुन ,एक आर्का संग प्रश्न गर्नु र त्यसको जवाफ दिनु  यामलको श्रेणीमा पर्ने गर्दछ | वाराही तंत्र अनुसार, १. श्रृष्टि २. ज्योतिष ३. नित्य कृत वर्णन ४. क्रम ५. सूत्र ६. वर्ण भेंद ७. जाति भेद ८. युगधर्म आदि विषय यसको विषय वस्तु हो  | यसमा त्यै विषयको छलफल गरिएको छ |   भैरवागमको  भैरवाष्टक अनुसार, यामल तन्त्र आठ किसिमका मानिएका छन - ब्रह्मयामल, विष्णुयामल, शक्तियामल, रुद्रयामल, अर्थवर्णायामल, रुरुयामल, वेताल्यामल र स्वछंदयामल  |
 

" यामिनी-विहितानी कर्माणि समाश्रीयन्ते तत् तन्त्रं नाम यामलम्   |"

माथिको श्लोक अनुसार , त्यस्ता साधना  या क्रियाकालाप जो रातको अँध्यारोमा  गुप्त रूपले गरिन्छ तिनलाई  यामल भन्ने गरिएको छ |  यो कर्म ज्यादै डरलाग्दो , विकट श्रेणीको हुने गर्दछ | शिव र शक्तिसंग सम्बंधित सबै रहस्य  औ  गुप्तज्ञान इनै  यामल तन्त्रमा  प्रतिपादन गरिएका छन   |  मुख्य रूप ६  ओटा  यामल शास्त्र रहेका छन १. ब्राह्म २. विष्णु ३. रुद्र ४. गणेश ५. रवि ६. आदित्य   |

(३)डामर
-----------
डामर ग्रन्थ, मात्र भगवान शिवद्वारा प्रतिपादित  मानिएका छन | डामर ग्रन्थहरु ६ ओटा छन , १. योग २. शिव ३. दुर्गा ४. सरस्वती ५. ब्रह्मा ६. गंधर्व  |

(४) तंत्र
----------

तांत्रिक ग्रन्थ देवी पार्वती र शिवको वार्ताबाट निकालिएको तन्त्र शास्त्र हो | पार्वतीले भनेको शिवले सुनेको कुरा  लिपिबद्ध गरिंदा  निगम  भनियो,  अनि  , शिवले भनेको तथा पार्वतीले सुनेकोलाई  आगम ग्रंथ मानिएको हो | यी कुरा समेटेर  लेखिएका सबै ग्रन्थहरु तंत्र रहस्य र  अर्णव भनेर  चिह्निएका छन | तंत्र, मुख्यतः शिव र शक्ति संग सम्बन्धित रहेको र यसैबाट अधिकतर तंत्र ग्रंथको उत्पत्ति हुन पुगेको देखिन्छ  | तंत्र ग्रंथहरुमा विभिन्न साधना , त्यसको पूजा विधिको वर्णन तथा  ज्ञानविज्ञान  प्रक्रिया समेटिएको हुन्छ |  यसैकारण ऋग्वेदले तंत्रलाई ज्ञानको तान भनेर अर्थ्याइ दिएको छ , र , त्यो तान बुन्दै जाँदा  ज्ञान बढ़दै जाने विश्वास  गरिएको हुन्छ  | तंत्र पद्धतिमा शैव, शाक्त, वैष्णव, पाशुपत, गणापत्य, लकुलीश, बौद्ध, जैन आदि सम्प्रदायहरुको उल्लेख भएतापनि  शैव तथा शाक्त तंत्र मात्रै हाम्रो देशमा प्रचलनमा रहेको छ | यी दुवैतंत्र मूलरूपमा एउटै हुन तर इनको नाउँ फरक फरक हुन पुगेको छ  |  शैव तंत्रले ज्ञान दिने भएकोले यसमा  ज्ञान प्राप्त गर्ने तरिका मात्र  वर्णन गरिएको छ  | शैवागम वा शैव तंत्रलाई  भेद, भेदाभेद तथा अभेद्वाद गरेर तीन भागमा बाँडिएको छ  | त्यसैकारण भेदवादी शैवागम / शैव सिद्धांत भनेर चिह्निंन पुगेको  छ | वीर-शैवलाई भेदाभेद भनेर चिह्निन्छ तथा अभेद्वादलाई शिवाद्वयवाद भनेर चिन्ने गरिएको छ |यी समस्त प्रकारका शिव सूत्रहरुको उद्गम स्थल हिमालय रहेको मानिएको छ |

तन्त्र, मन्त्र र यन्त्र
--------------------

देवी देउताको विग्रह मंत्रको रुपमा रहेको हुन्छ | देउताहरु तीन रुपमा रहेका हुन्छन - १. परा २. सूक्ष्म ३. स्थूल, | सामान्यतः मान्छेले देविदेउताको स्थूल रूपको  उपासना गर्ने गरेको हुन्छ  तथा त्यसकै सहाराले  मानव देविदेउताको सूक्ष्म रूप सम्म पुग्न  सक्तछ | तंत्र शास्त्रमा  अधिकतर कार्य मन्त्रद्वारा नै गर्ने गरिन्छ  | थोरै उच्चारण गरेर धेरै जान्‍नु तन्त्र हो | असंख्य अर्थहरूलाई व्यक्त गर्नसक्ने विचार, भाव वा तत्त्व तन्त्र हो | मानव शरीर तन्त्र, मन्त्र र यन्त्रले चल्दछ | हाम्रो शरीरको व्यवहार तन्त्र हो भने शरीरमा बसेर जो विचार पलाउँछ त्यो मन्त्र हो | यस अर्थमा मानव शरीर स्वयं यन्त्र हो | तन्त्र सिद्ध भयो भने अष्टसिद्धि प्राप्त हुन्छ | तन्त्र नेपालको एक  आध्यात्मिक परिपाटी हो   |

तन्त्र भनेको के ?
------------------
तन्त्र, सनातन परम्परा संग गाँसिएको आगम ग्रन्थ हो | शैव सिद्धान्तको ‘कायिक आगम’मा यसको अर्थ लाउँदै भनिएको छ " त्यस्तो शास्त्र जसद्वारा ज्ञान विस्तार गर्न सकिन्छ - " तन्यते विस्तार्यते ज्ञानम् अनेन्, इति तन्त्रम् |’’ तन्त्र शब्दको  निरुक्ति ‘तन्’ (विस्तार गर्नु ) र ‘त्रै’ (रक्षा गर्नु ), यी धातु एक ठाउँमा जोडदा बुझिन आउँदछ | यही कुरा व्याख्या गर्दै व्याकरण भन्दछ - “तनोति त्रायति तन्त्र” अर्थात जे कुरा तान्दा , विस्तार गर्दा वा र फैलाउँदा त्राण पाइन्छ त्यो नै तन्त्र हो | अर्थात जुनकुराले मान्छेको ज्ञान क्षेत्रलाई  विस्तार गर्दै, सो अनुरुपको  आचरण गराई मान्छेलाई त्राण दिलाउँछ ,  त्यो तन्त्र हो   |   यहाँ तन्त्र साधना भनेको "गुह्य या गूढ़ साधना" भन्ने जनाउँदछ | नेपालको हिन्दू र बौद्ध परम्पराको महायान र बज्रयान पन्थमा तन्त्रको प्रयोग व्यापक रुपमा हुने गर्दछ  |  यसवाहेक हाम्रो नेपालको सनातनी हिन्दू समाजले  कुनैपनि व्यवस्थित ग्रन्थ, सिद्धान्त, विधि, उपकरण, प्रविधि वा कार्यप्रणालीलाईपनि तन्त्र नै भन्दै आएको छ  |

तन्त्र परम्परा नेपालको सनातन हिन्दू , बौद्ध , जैन , सिख ,  बोन ,किरांत ( टों ), वहर्थमान  , दाओ तथा जापानको शिन्तो आदि परम्परामा प्रसस्त प्रयोग हुने गर्दछ  | नेपालमा  तन्त्र मुख्यतः शैव र  शाक्त सम्प्रदाय संग जोडिएपनि यसको प्रयोग वैष्णव पन्थमा पनि हुने गरेको छ  | शाक्त र  शैव परम्पराले तन्त्र ग्रन्थको  वक्ता नै  शिवजी भएको मानेको छ | बौद्ध धर्मको  वज्रयान परम्परा  तन्त्र ज्यादै लोकप्रिय हुन पुगेको छ  |   हिन्दू, बौद्ध र जैन दर्शनको  तन्त्र परम्परा  मिल्दा जुल्दा हुन्छन |   तन्त्र ग्रन्थ कति छन् भन्न सकिने अवस्था छैन तर ६४  तन्त्रको  प्रभाव विश्वभरी फैलिन पुगेको देखिन्छ  | हिन्दू, बौद्ध, जैन, तिब्बती धर्ममा प्रचलित  तन्त्र-साधना यसैको प्रभाव हो | तन्त्र शास्त्रले  अनेकौं शक्तिहरुको  उपासना र साधनाको  रहष्य बताएको छ | यस शिलशिलामा  कामाख्या तन्त्रले  अनेकौं शक्तिहरुको  उपासना र साधनाको  रहस्य बताएको छ  भने रूद्रयामल तन्त्रले कुण्डलिनीको   सात्त्विक औ धार्मिक उपासनाविधि वर्णन गरिदिएको छ |  यसले  दिव्य ज्ञान दिन्छ भन्ने धारणा राखिएको छ  भने उड्डीश तंत्र  भगवान शिवले  लंकापति रावणलाई दिएको तंत्रज्ञान हो ,यसले शीघ्र सिद्धि दिन्छ भन्ने मान्यता राखिएको छ | तन्त्रले हरेक कुरामा स्वीकारभाव  राख्दछ | यस  संसारमा देखिने सबै वस्तु भैरव प्राप्तिका साधन मानिएका छन् | तिनबाट भाग्नुभन्दा तिनको अस्तित्वलाई स्वीकारेर तिनलाई अद्वैतको साधन बनाउनका लागि तन्त्रले निर्देशन गरेको छ |  "विज्ञानभैरव" ग्रन्थको तलको  श्लोक हेरौं  :

"यत्र यत्र मनस्तुष्टिर्मनस्तत्रैव धारयेत् ।
तत्र तत्र परानन्दस्वरूपं सम्प्रवर्तते ।।७४।।

अर्थात्, जहाँ जहाँ मनले सन्तोष प्राप्त गर्न सक्दछ , त्यहाँ मनलाई अल्झाउनु पर्दछ; त्यसो गरे मानवको परमानन्द स्वरूप आफै प्रकाशित हुन पुग्दछ | "तन्त्र" शब्दको अर्थ जति बुझ्यो त्यति वृहद हुँदै जान्छ  | तन्त्र शब्द "तन्" र "त्र" (ष्ट्रन) दुई धातुले बनेको देखिन्छ | यहाँ ‘तन्’ पदले प्रकृति र परमात्मा तथा ‘त्र’ ले स्वाधीनता बताउँदछ ,त्यसकारणले ‘तन्त्र’ को अर्थ लाउँदा जुन साधनाले प्रकृति र परमेश्वरलाई आफनो अनुकुल बनाउन सकिन्छः त्यो तन्त्र हो पनि भन्ने गरिएको छ | तन्त्र शब्दले सन्धी  'विधि र उपाय'लाई जनाएको हुन्छ | यहाँ विधि र उपाय भनेको सिद्धान्त होइन | सिद्धान्तको कुरो गर्दा शास्त्र र व्यक्ति , व्यक्ति व्यक्ति विच मतभेद हुन् सक्दछ | विग्रह हुन सक्छ ,वादविवाद हुन सक्दछ तर, विधिको कुरो गरे , त्यसमा कोही कसैको ,  कुनै प्रकारको मतभेद देखिनु हुँदैन  | नदीमा डूबन लाग्दा , त्यसबाट जोगिन , पौडेरै निस्किनै  पर्दछ | बिजली चाहियो भने पानीको वहावलाई रूपान्तरण गर्नै पर्दछ , दौडिनु पर्दा खुट्टो चाल्नै पर्दछ | हिमाल चढ्नु परे ऊँचाई तर्फ लम्किनै पर्दछ , अरु उपाय अपनाएर हुँदैन | यै क्रियालाई 'विधि' भन्ने गरिएको हो | त्यसैले तन्त्र अथवा आगममा व्यवहार पक्ष मुख्य मानिएको हो | तन्त्रको दृष्टिमा शरीर निमित्त मात्र हो | तन्त्रको निमित्त साधन शरीर नभई  चेतनाको उच्च शिखरमा मान्छे पुग्न सक्दैन | यसर्थ तन्त्र भनेको ‘तन’ अर्थात शरीरको माध्यमले आफ्नो आत्मालाई  ’त्राण’ दिनु वा आफ्नो उद्धार गर्नु भन्नु परेको हो | तन्त्र साधनामा शरीर र  मन साधकको शरीरको सूक्ष्मतम् स्तर सम्म मात्र प्रयोग हुने गर्दछ  | यस र्थमा तन्त्रले शरीरलाई त्यतिनै महत्त्व दिन्छ जति उसको मन बुद्घि र चित्तलाई दिएको हुन्छ |

तन्त्रको मुख्य प्रतिपाद्द वस्तु
------------------------------
कर्मकाण्ड र पूजाउपासना  गर्ने  तरिका सबै  धर्ममा फरक फरक हुन्छन तर  तन्त्रको प्रक्रिया झन्डै झन्डै सबैतिर उस्तै उस्तै खाले हुने गर्दछ  |  सबै धर्मले  मानव मित्र अनन्त ऊर्जा भएको स्विकार्छन जसको पाँच-सात प्रतिशतमात्र  प्रयोगमा आएको हुन्छ , शेष भाग खेर गई रहेको हुन्छ | सबै धर्म सम्प्रदायले यो कुरा स्व्कारेको हुन्छ र  आ आफ्नो  हिसाबले त्यसको बाटो बताएको हुन्छ | ती सबैले एक नासको बिधि अवलम्ब गरि आफु भित्रको  शक्ति जगाउने काम गरेको हुन्छ |त्यसमा  जप, ध्यान, एकाग्रता अभ्यास र शरीरगत ऊर्जाको सघन उपयोग शामिल भएको हुन्छ | यहीनै तन्त्रको मुख्य वस्तु हो | तन्त्रोक्त मतानुसार मन्त्रद्वारा यन्त्रको माध्यमले भगवानको उपासना गर्नु तन्त्र हो  | तन्त्र-शास्त्रले  सिद्धान्तको कुरो गरेपनि  आगम-शास्त्रको  तीन चौथाई भागले  विधिनै इंगित गरेको छ | तन्त्र  शास्त्रको सबै  ग्रन्थ शिव र पार्वतीको संवादबाटै  प्रकट भएका छन |  देवी पार्वतीले  प्रश्न गर्दा  शिवजीले उत्तर दिंदै विधि बताई दिएका छन | भगवतीको अधिकांश प्रश्न समस्या प्रधान रहेका छन | देवीले  सिद्धान्तकोलागि सोधेको  प्रश्नको जवाफ  शिवजीले केही शब्दमा बताएर त्यो गर्ने विधिकै वर्णन गरिदिएका छन | आगम शास्त्र अनुसार गर्नु नै जान्नु हो र त्यो जान्नु  ज्ञान होइन |  जब सम्म क्यै गरिन्न  , तवसम्म मान्छे   साधनामा  प्रवेश गर्दैन  , जवसम्म उसले आफैले साधना गर्दैन , तबसम्म उसले तन्त्रको उत्तर वा  समाधान पाउंदैन  |

तन्त्र शास्त्रमा शक्ति उपाशना
---------------------------------

तन्त्र शास्त्रमा  अनेकौं  शक्तिशक्तिहरुको  उपासना र साधनाको रहस्य वर्णन गरिएको छ |

“सर्वेऽथा येन तन्यन्ते त्रायन्ते च भयाज्जनान्।
इति तन्त्रस्य तन्त्रत्वं तन्त्रज्ञाः परिचक्षते।।

‘जुन शास्त्रद्वारा  सबै  मन्त्रार्थ अनुष्ठानको विस्तारपूर्वक ज्ञान प्राप्त हुन्छ तथा जस अनुसार कर्म गरेर मानिसले  भयबाट मुक्ति पाउँछ , त्यो  ‘तन्त्र’ हो  | तन्त्र-शास्त्रको विशेषतालाई हाम्रा ग्रन्थहरुले यसरी  देखाएका छन् - १ सृष्टि-प्रकरण, २ प्रलय-प्रकरण, ३ तन्त्र-निर्णय, ४ दैवी सृष्टि को विस्तार, ५ तीर्थ-वर्णन, ६ ब्रह्मचर्यादि आश्रम-धर्म, ७ ब्राह्मणादि-वर्ण-धर्म, ८ जीव-सृष्टि को विस्तार, ९ यन्त्र-निर्णय, १० देवता को उत्पत्ति, ११ औषधि-कल्प, १२ ग्रह-नक्षत्रादि-संस्थान, १३ पुराणाख्यान-कथन, १४ कोष-कथन, १५ व्रत-वर्णन, १६ शौचा-शौच-निर्णय, १७ नरक-वर्णन, १८ आकाशादि पञ्च-तत्त्वको अधिकारका अनुसार पञ्च-सगुणोपासना, १९ स्थूल ध्यान आदि भेदबाट चारप्रकारका ब्रह्मको ध्यान, २० धारणा, मन्त्र-योग, हठ-योग, लय-योग, राज-योग, परमात्मा-परमेश्वरका सबप्रकारको उपासना-विधि, २१ सप्त-दर्शन-शास्त्रको सात ज्ञान-भूमिको रहस्य, २२ अध्यात्म आदि तीनप्रकारका भावको लक्ष्य, २३ तन्त्र  र पुराणको विविध भाषाका रहस्य, २४ वेदको षङंग, २५ चार उप-वेद, प्रेत-तत्त्व २६ रसायन-शास्त्र, रसायन सिद्धि, २७ जप-सिद्धि, २८ श्रेष्ठ-तप-सिद्धि, २९ दैवी जगत्-सम्बन्धीय रहस्य, ३० सकल-देव-पूजित शक्तिको वर्णन, ३१ षट्-चक्र-कथन, ३२ स्त्री-पुरुष-लक्षण वर्णन, ३३ राज-धर्म, दान-धर्म, युग धर्म, ३४ व्यवहार र-रीति, ३५ आत्मा-अनात्माको निर्णय इत्यादि  |

विभिन्न ‘तन्त्र’शास्त्रका ज्ञाताहरुले  ‘तन्त्र’ लाई मुख्य तीन भागमा बाँडेको देखिन्छ -

(१ )श्री सदा-शिवोक्त तन्त्र,( २ )पार्वती-कथित तन्त्र,( ३ ) ऋषिगण-प्रणीत तन्त्र ग्रन्थ | यो (१) आगम,( २ ) निगम, र (३ )आर्ष तन्त्र भनिन्छ  | यो एउटा स्वतन्त्र शास्त्र हो, जुन पूजा र आचार-पद्धतिको परिचय दिएर पनि इच्छित तत्त्वलाई आफनो अधीन बनाउने मार्ग देखाउछ | यस प्रकारको यो साधना-शास्त्र हो  । यसमा  साधना अनेक प्रकार दिएको छ, जसमा  देवताका स्वरुप, गुण, कर्म आदिको  चिन्तन प्रक्रिया साथै  ‘पटल, कवच, सहस्त्रनाम तथा स्तोत्र’- यिनै  पाचअंग वाला पूजाको विधानहरु छ । यो  अंगको  विस्तार परिचय यस प्रकार छ :-  पटल ,पद्धति ,  कचव ,सहश्रनाम ,स्तोत्र |

तन्त्रको  विषय वस्तु
----------------------

ज्ञान, या दर्शन,  योग,  कर्मकाण्ड,  विशिष्ट-साधना , पद्धति  तथा समाजिक आचार-विचारको  नियम  |  सांख्य तथा वेदान्त  दर्शनको अद्वैत विचारको  प्रभाव तन्त्र ग्रन्थमा परेको छ |  तन्त्र शास्त्रमा प्रकृति संगै  शिव, अद्वैत दुईटैको कुरो गरिएको छ तर  तन्त्र दर्शनमा  ‘शक्ति’ (ईश्वरको  शक्ति) मा विशेष बल दिईएको छ |

तन्त्रका तीन परम्परा
-----------------------
(१)शैव आगम वा शैव तन्त्र, (२) वैष्णव संहिता, तथा (३) शाक्त तन्त्र

(१) शैव आगम वा शैव तन्त्र
-------------------------------
शैव आगम भित्र  चार विचारधारा पाइन्छन  –  (१) शैवसिद्धान्त, (२) तमिल शैव, (३) कश्मीरी शैवदर्शन, तथा (४) वीरशैव या लिंगायत शैव दर्शन  |  शैव सिद्धान्त वा शैव आगम   भित्र २८ आगम तथा १५० उपागम रहेको मानिन्छ  | शैव सिद्धान्त अनुसार सैद्धान्तिक रूपमा शिव मात्र चेतन तत्त्व मानिएका छन र प्रकृति जड़ तत्त्व मानिएको छ | शिवको मूलाधार शक्ति हो , त्यो शक्ति नै प्रकृति हो  | शक्ति द्वारानै बन्धन एवं मोक्ष प्राप्तहुन पुग्दछ  |   कश्मीरी शैवदर्शनको प्रमुख ग्रन्थ शिवसूत्र हो    | यसअनुसार शिवको आराधनाद्वारा नै ज्ञान प्राप्त हुने ठानिन्छ   | शैव सिद्धान्तले  यो संसारलाई  शिवको अभिव्यक्ति ठान्दछ , तसर्थ शिवबाटै उत्पन्न भएको मान्दछ   |  यो दर्शनलाई ‘त्रिक’ दर्शनपनि भन्ने गरिएको छ | यसले शिव, शक्ति तथा जीव (पशु) तिनैको अस्तित्व स्वीकार गरेको छ  | वीरशैव दर्शनको मुख्य ग्रन्थ “वाचनम्” हो जसको अर्थ हो ‘शिवको उक्ति’ | यो दर्शनले शिवलाई पूर्णतया समस्त कारक, संहारक, सर्जक ठानेको छ | यो आगम 'क्रिया' संग सम्बन्धित सिद्धान्त हो | 'वाराहीतंत्रले आगमका सात लक्षण बताएको छ - सृष्टि, स्थिति , प्रलय, देवतार्चन, सर्वसाधन, पुरश्चरण, षट्कर्म, ( शांति, वशीकरण, स्तंभन, विद्वेषण, उच्चाटन तथा मारण) साधन तथा ध्यानयोग | 'महानिर्वाण' तंत्रले  कलियुगमा प्राणि मेध्य (पवित्र) तथा अमेध्य (अपवित्र) विचारले ग्रस्त हुने भएको कारण ,तिनको  कल्याणार्थ भगवान महेश्वरले आगम उपदेश पार्वतीलाई दिएका थिए भनिएको देखिन्छ | शैव आगम (पाशुपत, वीरशैव सिद्धांत, त्रिक आदि) द्वैत, शक्ति विशिष्टद्वैत तथा अद्वैतको दृष्टिले हेर्दा तीन प्रकारको  भेटिएको छ |   २८ शैवागम 'सिद्धांतको रूपमा प्रख्यात रहेको छ  | 'भैरव आगम' संख्यामा ६४ ओटा रहेपनि त्यस मध्ये  शैवागम नै  मुख्य मानिएको छ | शैवागममा द्वैतभाव , परमअद्वैत भाव सम्मको चर्चा गरिएको पाइन्छ | किरणागम ग्रन्थ अनुसार यो विश्वसृष्टि गर्दा परमेश्वर शिवले  महाज्ञान संचार गर्न दस शैवहरु प्रकट गर्न  पुगे , उनले ती सबैलाई महाज्ञानको एक एक अंश दिएका थिए | त्यै अभिव्यक्त महाज्ञान नै शैवागम भनेर चिह्निएको हो | सनातनभित्र वेद अखंड महाज्ञानको शाश्वत  शृंखला  हो , तर त्यो पनि विभक्त भई चाररूपमा रहन पुगेको  छ | त्यसरी नै मूल शैवागम एक भएपनि २८ आगमको रूपमा प्रसिद्व हुन पुगेको हो | यी सबै आगम धाराका आ आफ्नै परंपरा रहन पुगेका छन |

(२) वैष्णव तन्त्र
------------------
बैखानस एक ऋषिको नाउँ हो ,जसका यस  भूधरामा नौ ओटा शिष्यहरू रहेका थिए - १. कश्यप २. अत्री ३. मरीचि ४. वशिष्ठ ५. अंगिरा ६. भृगु ७. पुलत्स्य ८. पुलह ९. क्रतु  बैखानक आगमका  प्रवर्तक मानिन्छन | बैखानासले चलाएको यो वैष्णव संहिताका दुई विचारधाराहरु यस लोकमा प्रख्यात भएका छन – वैखानस संहिता, तथा पंचरात्र संहिता  |  वैखानस संहिता , वैष्णव परम्पराको  विचारधारा हो | यो प्राथमिक रुपमा तपस्या र साधना गर्ने परम्परा हो | पंचरात्र संहिता भनेको  ‘पंचनिशाको तन्त्र’ हो  | पंचरात्र परम्पराभित्र ,प्राचिन विश्वको श्रिष्टि  , श्रिष्टि रचना प्रक्रियाको व्याख्या रहेको छ |  यसमा सांख्य तथा योग दर्शनको मान्यताहरु वर्णन गरिएको छ | वैखानस परम्पराको तुलनामा पंचरात्र परम्परानै हाम्रो समाजमा  बढी प्रचलित  रहेको  छ |  यसका १०८ बटा  ग्रन्थहरु रहेका छन | वैष्णव परम्परामा भक्तिवादी विचारधारा बाहेक शक्ति सिद्धान्तपनि रहेको हुँदा  वैष्णवहरुको  पञ्च क्रिया  अनुसार पंचरात्र आगमको रचना हुन पुगेको हो | वैष्णव संप्रदायले  भगवान विष्णु संग सम्बंधित धार्मिक कृत्यहरू  जो पाँच रात्रिमा पूर्ण गरिन्छन ती कुराहरुको  वर्णन वैष्णव आगम ग्रंथमा गरिएको देखिन्छ |   १. ब्रह्मा रात्र २. शिव रात्र ३. इंद्र रात्र ४. नाग रात्र ५. ऋषि रात्र, वैष्णव आगम अंतर्गत पर्दछन | सनत कुमार, नारद, मार्कण्डये, वसिष्ठ, विश्वामित्र, अनिरुद्ध , ईश्वर तथा भरद्वाज मुनि, वैष्णव आगमका  प्रवर्तक मानिएका छन |

(३ )शाक्त तंत्र
-----------------
आगम  ,कौलाचार , चक्र  रहेको छ |

नेपालको शाह वंश र ६४ तन्त्रको सम्वन्ध
---------------------------------------------
" तोडल तन्त्र र  सर्वोल्लास तन्त्र " मा उल्लेख गरिएका  ६४  तन्त्रहरुको नाउँ  चतुःशती र श्रीकण्ठीको तन्त्र सूची संग मेल खाँदैन   |  तोडल तन्त्रको सूची सर्वानन्दको  सर्वोल्लासमा उल्लेख गरिएको छ , जसमा  काली , मुण्डमाला , तारा सहित  कामाख्या तन्त्रमा उल्लेख भएको  ६४  तन्त्रहरुको नाउँपनि समावेश छ |  यी तन्त्रहरु   सन् ‌ १७५४ ई० लिपिबद्ध गरिएको हस्तलिखित पुस्तक  " इण्डिया अफिस लाइब्रेरी " लंदनमा व्रिटिश शासकहरुले पुर्याएका छन्छ भने ,८ औं शताब्दी भन्दा पहिलेको   " जयद्रथयामल " तन्त्रको धेरै कुरा यै ग्रन्थले प्रष्ट पारेको छ |  आठ किसिमको यामल तन्त्रको मूलग्रन्थ ब्रह्मयामल तन्त्रलाई  मानिएको छ |   यामलाष्टक जस्तै  मंगलाष्टक , चक्राष्टक , शिखाष्टक आदि तन्त्र वर्गको  चर्चा जयद्रथयामलमा गरिएको पाइन्छ | जयद्रथयामलमा विद्यापीठका तन्त्रहरुको नाउँपनि  उल्लेख गरिएको छ |  यसका प्रमुख उपाशक नेपालका श्री ५ महाराजधिराज प्रतापसिंह शाह रहेका थिए |  त्यो पुस्तक तत्कालिन नेपालको  राज दरवारमा रहेको थियो भने ११७४ ई० मा लेखिएको  पिंगलातन्त्र  नामक ग्रन्थ ,जसलाई  ब्रह्मयामल तन्त्रको परिशिष्ट भएको भन्ने गरिएको छ  त्यो पनि तत्कालिन नेपालको राजदरवारमा रहेको थियो  |  अहिले तन्त्र शास्त्रका ती दुर्लभ ग्रन्थहरु कहाँ पुर्याइएको छ खोजीको विषय हो |  पिंगलामत अनुसार उहिले   ब्रह्मयामल तन्त्र अनुसरण गर्ने साततन्त्र नेपालमा प्रचलित हुन पुगेका थिए जसमा  दुर्वासामत र सारस्वतमतले निकै प्रसिद्धि पाएको थियो |  महामहोपाध्याय पंडित गोपीनाथ कविराजले तन्त्र साहित्यको  परिचय गराउने शिलशिलामा  दस शिवागम , अष्टादश रुद्रागम , ६४ भैरवागम , ६४ तन्त्र -कुल मार्ग , शुभागम पंचक (समय मार्ग ) तथा चौसठ तन्त्रहरुको  संक्षिप्त विवरण प्रस्तुत गरेको ग्रन्थ अहिलेपनि प्राप्य रहेको छ |  यिनै तन्त्र शास्त्रहरूको साधकहरु तत्कालिन नेपालमा प्रसस्त भएकाकारण  तन्त्रशास्त्र अनुसार नेपालमा छाग,महिष ,मेष ,कुखुरा हाँस बलिदिने चलन बसेको हो र  हाम्रो तन्त्र सभ्यताको महत्वपूर्ण सोच बलिप्रथा जीवनको पूर्ण परम मूक्ति संग गाँसिएको मानिन पुगेको हो |  |

आदि शंकराचार्यको तन्त्र शास्त्रमा संलग्नता
-----------------------------------------------
शंकराचार्यद्वारा लिखित आनन्दलहरी ग्रन्थले  ६४ तन्त्रको चर्चा प्रथम पटक गरीएको थियो  | त्यसका  भाष्यकार  लक्ष्मीधरले "चतुःषष्ट्‌या तन्त्रैः सकलमनुन्धाय भुवनम् ‍ " श्लोक संख्या -३१ को पाठ संशोधन गर्दैभने  यो  श्लोकमा महामयाँ  , शम्बर आदि ६४ तन्त्रहरु सहित  तिनका प्रतिपाद्द विषयबस्तु  सबै  उल्लेख  गरिएको छ | शंकरको  तन्त्रहरुको विशेषता भनेको उनले प्रत्येक तन्त्रमा  सिद्धिहरुको वर्णन गरिदिएका छन  | शंकराचार्य आफै  शिवजीको अवतार भएको तथा  देवीहरुले  साधक भगवती तन्त्रको  निर्माण गर्न अनुरोध गरे अनुरुप  शिव स्वरुपा शंकरले तन्त्र निर्माण गरिदिएको मानिएको छ  |   "चतुःशती " "नित्याषोडशिकार्णव " एवं भाष्कर  रायको  सेतुबंध टीकामा ६४ तन्त्रहरुको  विस्तृत रुपमा  व्याख्या गरिएको छ | लक्ष्मीधरको  व्याख्या अनुसार कुलामार्ग को ६४ तन्त्र वैदिक मार्ग भन्दा   पृथक् ‍ र जगतको  विनाशक हो  | ६५  औं  तन्त्रको विषयमा भनिएको  छ -  भगवानको  मन्त्र -रहस्य शिव शक्ति दुबैको   सम्मिश्रणबाट  निसिकिएकोले  उभयात्मक मानिएको  हो  | चतुःशतीमा उल्लेख  गरिएको ६४ तन्त्र  अनुसार   बहुरुपाष्टक भित्र   आठ तन्त्रमा एउटा  नाउँ  पाइंदैन     तथा अन्तिम सप्तकमा चाहीं  ७  को ठाउँमा   आठ क्षपणक मतको तन्त्रको उल्लेख गरिएको छ |

यी  सबै तन्त्रहरुले  एहालौकिक फलमामात्र  विशेष रुपमा ध्यान दिएको देखिन्छ भने  तिनले   परमार्थिक फलमा ध्यानदिएको देखिन्न  |  यसैले लक्ष्मीधरले यसलाई  अवैदिक भनेर  प्रश्न गर्दै भने  परमेश्वरले  एहालौकिकता  सिद्धि गर्ने यी शास्त्रहरुको  अवतरण किन गरे ? र आफैले जवाफ दिंदै भने पशुपति शिवले सबै वर्णहरुको कल्याणकोलागि तन्त्र शास्त्रको रचना गरेका हुन  , तर , यी तन्त्रहरुमा  प्रत्येक वर्णको  अधिकार सबै तन्त्रमा एकनासले गरिएको छैन  | ब्राह्मण , क्षत्रिय , वैश्य (ज्ञानी ,शुरवीर र अर्थोपादक ) आदि विशुद्ध चन्द्रकला विद्याका  अधिकारी मानिएका छन  भने  शूद्रहरु(अज्ञानी) ६४  तन्त्रका  अधिकारी मानिएका छन  |  यी आठ चन्द्रकला विद्या अवैदिक चन्द्रकला विज्ञान भन्दा अलग मानिएर उल्लेख हुन पुगेका  छन | यिनको नाउँ  १ . चन्द्रकला , २ ज्योत्स्नावती , ३ कुलार्णव , ४ .कुलेश्वरी , ५ . भुवनेश्वरी , ६ .बार्हस्पत्य , ७ दुर्वासामत र ८ . आठौँको नाउँ उल्लेख गरिएको छैन |  यी तन्त्रहरुका सबै वर्ण  अधिकारी मानिएका छन |  तर , माथिका  त्रिवर्ण दक्षिणमार्गी र शूद्रहरु  वाम मार्गी हुन पुगेका हुन्छन  |  पण्डित कविराजले यो  विद्या कुलमार्ग र समयमार्गको  मिश्रण हो भनेर बताएका छन   |

शुभागम पञ्चक
-----------------
१ . सनक , २ .सनन्दन , ३ .सनत्कुमार , ४ .वसिष्ठ र ५ .शुक -संहिताहरुलाई  शुभागम पञ्चक भन्ने गरिएको छ | यो वैदिक मार्ग हो | यसलाई समयाचारले डोर्याएको हुन्छ  | लक्ष्मीधरको भनाई अनुसार  आदि  शंकराचार्य  आफैले   समयाचारको रेखदेख गर्ने गरेका थिए रे | शुभागम पंचकको मूल विद्या भित्र  षोडश विद्याहरु उल्लेख गरिएका छन र ६४ विद्याको  चन्द्रज्ञानविद्या अन्तर्गत १६ नित्याहरु  मुख्य रुपमा स्विकारिएका छन |   त्यसैकारण यसलाई  कौल मार्ग भन्ने गरिएको छ | माथि जुन  पृथक ६५ औं तन्त्रको कुरो गरिएको छ , भाष्कर  रायले त्यो  "वामकेशव  तन्त्र " हो भनेका  छन | यसभित्र  नित्याषोडशिकार्णव पर्दछ | "सौंदर्यलहरी " का भष्यकार गौरीकान्तले  त्यो ६५ औं तन्त्र  ‘ज्ञानार्णव ’ तन्त्र हो भनेर बताएका छन भने अरु विद्वानहरु त्यो  स्वतन्त्र तन्त्र  "तन्त्रराज " हो भनेर औंल्याएका छन  |  अस्तु ||| प्रवीण अधिकारी

Comments

  1. Namaste,
    Maile Nepal ma vigyan bhairav tantra ( Osho ko hoina) padhna khojeko katai paiyena.hajur sanga bhaye malaai upalabdha garidinu bhaye ma aabhaari hune thiye.

    ReplyDelete

Post a Comment

Popular posts from this blog

साधन चतुष्टय वेदांत दर्शन के अधिकारी(Four Qualifications of Vedant Philosophy)

यज्ञ करने का विधान

अपरा विद्या और परा विद्या(अध्यात्म विद्या) (Physics and Meta Physics)